कैलाली । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको बताएका छन् ।
समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभामा बोल्दै प्रधानमन्त्री दाहाल यस्तो बताएका हुन् ।
उनले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारवाहीको भागीदार भएको बताए ।
प्रधानमन्त्रीले भ्रष्टाचारका अरू पनि केही फायलहरू छिट्टै खुल्ने दावी समेत गरे । देशलाई खोक्रो पार्ने शक्तिहरुलाई विस्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली एमाले नभएको आरोप समेत लगाए ।
उनले ओली रियल एमाले नभएको टिप्पणी गरे । युद्धकालीन अवस्थाको स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने बताए । अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा प्रचण्डको बुझाइ छ ।
साथै इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री दाहालले बताए । बेपत्ता विपिनको खोजी कार्य तीब्र पारिएको उनले बताए ।
प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो। सोही क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म बेपत्ता छन् । प्रधानमन्त्री दाहालले अहिले इजरायलमा मात्र नभइ हमास आबद्ध देशहरुमा पनि खोजी भइरहेको बताए ।




















