काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भ जोडेर गलत प्रचार गरिएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे । उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न पनि आग्रह गरे ।
प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताउँदै रक्षामन्त्री खड्काले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको उल्लेख गर्दै नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए ।




















