काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोकेर जनतामा आशा जगाउन आफू मुख्यमन्त्री बनेको दाबी गरेको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कार्कीले संविधानवादलाई पार्टीले सकारात्मक लिने विश्वास व्यक्त गरे।
उनले पार्टीभन्दा पनि सांसदको सामूहिक अठोटले नयाँ सरकार बनेको दाबी गरे। उनले गठबन्धनमा उतारचढाव निरन्तर भइरहेकाले स्थिर सरकार बनाउन आफूले प्रयास गरेको धारणा राखे ।
सत्ता गठबन्धनको मात्रै संसदको संख्याले मध्यावधिमा जाने बाटो देखिएकाले उनले नयाँ गठबन्धन बनाउन बाध्य भएको दाबी गरे। कार्कीले आइतबार नयाँ मन्त्रिमण्डल गठन गर्ने जानकारी दिए ।
कार्की एमालेको समर्थनमा नेपाली कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीमा नियक्त भएका हुन्। कांग्रेस शेखर कोइराला पक्षका ८ जनाले विद्रोह गरेर एमालेका ३९ जना सांसदको समेत समर्थन जुटाएर कार्कीको पक्षमा बहुमत पुर्याएका हुन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन्। अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए भने पछिल्लो प्रदेश सभाको एक वर्षमा ५ औं मुख्यमन्त्री नियुक्त भएका छन् ।
यसअगाडि हिक्मत कार्की र उद्धव थापा २–२ पटक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्रीमा दुई पटक नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापालाई भने सर्वोच्च अदालतले बर्खास्त गरेको हो। हिक्मत कार्कीले भने माओवादी र जसपाले साथ छाड्दा पहिलो पटक विश्वासको मत पाउन सकेनन् भने दोस्रो पटक विश्वासको मत पाउनु अगाडि नै राजीनामा दिए।




















