विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्।
एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्।
कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे ।
तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए।
शनिबार बिहान हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गरेका हुन्।
कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्याउँदै कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका थिए। तर उनीहरुले बहुमत पुर्याउन सकेनन् ।
केन्द्रीय गठबन्धनले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो। तर, कांग्रेसको संस्थापनइतर पक्षधर कार्कीले विद्रोह गरेर आफू पक्षकासहित एमालेका सांसदको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनको दाबीसँगै आङ्बोलाई अवरोध पुगेको हो।
कांग्रेसका विद्रोही सांसदहरूले आफूहरूको हस्ताक्षर आङ्बोले दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताएका छन्। आफूहरूको समर्थन कार्कीलाई रहेको उनीहरूले स्पष्ट पारेका थिए । प्रदेश प्रमुखकोमा हस्ताक्षर बुझाउँदा कार्कीलाई कांग्रेसका शमशेर राई, रामकुमार खत्री, लीलाकुमारी राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीताकुमारी गुरुङले साथ दिएका थिए ।





















