विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब बढेको छ।
कार्कीले संविधान र सर्वोच्चको फैसला बमोजिम संवैधानिक प्रक्रिया पूरा गरेर मुख्यमन्त्रीमा दाबी गरेका छन्।
कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित दबाब दिन ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाँदैछन्। प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सशरीर उपस्थित भएर उनीहरूले मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन लागेका हुन्।
कार्की र नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
गठबन्धनका तर्फबाट आङ्बोले नेपाली कांग्रेसको संस्थापनइतर सांसदको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी गरेका हुन्। उनले कांग्रेसका सांसदको पुरानो हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् ।
संस्थापनइतरका कार्कीले आफ्ना ८ र नेकपा (एमाले)का ३९ सांसदसहित ४७ सांसदको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। कांग्रेस प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्की पनि उनकै पक्षमा खुलेका छन्। उनलाई मुख्मन्त्री नियुक्तिका लागि दबाब दिने कार्यक्रममा हिमाल पनि उपस्थित हुने भएका छन्। उनी उपस्थित हुँदा कार्कीको पक्षमा ४८ सांसद हुनेछन्।




















