काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।
वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन् ।
प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन् । उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ।
पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए।
‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ । उहाँ अहिले बाहिर हुनुहुन्छ, सक्रिय हुनुहुन्छ’, प्रधानमन्त्रीले भने, ‘उहाँको किताव विमोचन गर्न पाउँदा खुसी लागेको छ । आउन दिनमा पनि अरु राम्रा रचना आउने विश्वास गरेको छु ।’
चौधरीले आफ्नो प्रवासी देखि जेल जीवनसम्मको यात्रा र भोगाईमा आधारित रहेर ‘धरातल’ लेखेको बताएका छन् । यस पुस्तकमा रेशमको व्यक्तिगत मात्रै नभएर थरुहट आन्दोलनको पनि पृष्ठभूमि समेटिएको छ ।
‘यो मैले जेलमा हुँदा लेखेको किताव हो। जसमा मैले प्रवासमा रहँदा र जेलमा रहँदा के देखे? के भोगे? आफू प्रवासमा रहेर कसरी चुनाव जिते? मलाई जिताउन कुन-कुन पात्रले सहयोग गर्नुभयो? जेलका पीडा कस्तो थियो? वास्तविक हाम्रो रातल के थियो? कस्तो छ? भन्ने कुरा यस पुस्तकमा छ’, उनले भने ।
२०७२ सालमा भएको थरुहट आन्दोलनका कारण कारावाससम्म पुगेका चौधरीका यसअघि नै टीकापुर घटनाको चिरफार, परिबन्ध लगायतका कितावहरु बजारमा छन् । उनको कितावमा दर्जनौँ जनाले थेसिस पनि गर्ने गरेका छन् ।
जेलमा लेखेको ‘धरातल’ लाई रेशमले जेलमै विमोचन गर्ने सोच थियो। तर, गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भएपछि अहिले प्रधानमन्त्रीको हातबाट पुस्तक विमोचन गरिएको छ ।
चौधरी २०४७ सालमा ‘जोगनी’ नामक पत्रिकाको सम्पादन गरेर पत्रकारिता तथा लेखनमा लागेका थिए । २०५० सालमा ‘एक ठो वीरहीन कथा’ नामक कविता संग्रह प्रकाशन भएको थियो । त्यसयता उनले आधा दर्जनभन्दा बढि पुस्तकहरु प्रकाशन गरिसकेका छन्।
चौधरीले हालसालै पनि प्रकाशोन्मुख उपन्यास चारवटा पुस्तक लेख्दै छन् ।




















