काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।
बिहीबार साँझ उनले कोशी प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा दाबी पेश गरेका हुन् ।
आङबोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।
यता गठबन्धनले आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले भने एमालेसँग समीकरण गरेको छ ।
सत्ता साझेदार दर नेपाली कांग्रेसभित्रको विवाद चुलिएको छ । मुख्यमन्त्री माओवादीलाई छाड्ने सभापति शेरबहादुर देउवाको निर्णयसँगै संस्थापनइतर पक्षले एमालेको साथ लिएर समानान्तर रुपमा दाबी पेश गरेको हो ।
एमालेको समर्थन लिँदै कांग्रेसका केदार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुखको कार्यालयमा पुगेका छन् ।
कांग्रेसका ८ प्रदेशसभा सदस्य कार्कीका समर्थनमा उभिएका छन् । उनीहरुले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । जसमा कार्कीसहित उदयपुरका रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र उदयपुरकै लीलाकुमारी राईले हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ ।




















