काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
सत्तारुढ गठबन्धनले कोशीमा नयाँ सरकार गठनका लागि राप्रपाको सहयोग मागिरहेको बेलामा उक्त बिषयमा निर्णय लिने पदाधिकारी बैठक बोलाइएको हो ।
कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राप्रपा निर्णायक शक्तिका रूपमा देखिएको छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पदाधिकारी बैठकले कोशी सरकार गठनमा पार्टीको रणनीतिबारे निर्णय लिने भएको छ । अहिले आफूहरु गठबन्धन र एमाले दुवैतिर छलफलमै रहेको पनि उनले बताए ।
कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य भइरहेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारका लागि दावी पेश गर्न दिनुभएको एकसाताको समय शुक्रबार सकिँदैछ ।




















