काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच छलफल भएको हो।
प्रधानमन्त्री दाहालले कोसी प्रदेश सरकार गठनका लागि सहकार्य गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग आग्रह गरेका छन् ।
मध्यावधि नजिक रहेको कोसी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेशसभामा रहेका जुनसुकै सदस्यले बहुमत (४७) सदस्य पुर्याएर मुख्यमन्त्रीको दाबी गर्न पेस गर्न सक्नेछन्। प्रदेश प्रमुख खापुङले असोज २६ गते ५ बजेभित्रमा मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
मिति नजिकिँदै गर्दा प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनसँग सहकार्यको हात अघि बढाउन आग्रह गरेका हुन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई बर्खास्त गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शनिबार विश्वासको मत परीक्षण नगरिकन पदबाट राजीनामा दिएका थिए ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। एमालेका उपसभामुखबाहेक ३९ र एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य छन् । त्यसो हुँदा एमाले-राप्रपा गठबन्धन बन्दासमेत प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै पुग्ने थियो ।
गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी) केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य पुग्छन्। ज्येष्ठ सदस्य गठबन्धनकै रहेकाले विश्वासको मत लिँदा पहिलेकै अवस्था आउने देखिन्छ। राप्रपाका ६ सदस्य जोड्दा ५३ प्रदेश सदस्य पुग्नेछन् । यो गठबन्धनका लागि स्पष्ट बहुमत पनि हो ।




















