काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए ।
कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा यसअघि दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि विश्वासको मत पाउन सकेनन् ।
बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ ।
बैठकले इजरायलमा भएको आक्रमण र नेपालीहरूको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको छ भने मंगलबारै बस्ने संसदीय दलको बैठकमा इजरायलमा भएको हमास आक्रमण र त्यहाँ मृत्यु भएका युवाप्रति शोक व्यक्त गर्ने र सोहीबारेमा सरकारलाई सुझाव दिने विषयमा मात्रै केन्द्रित हुने जनाइएको छ ।



















