काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै मन्त्री साउदले यस्तो आग्रह गरेका हुन्।
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि अनुरोध गरे।
“अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ”, उनले राससलाई भने, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।”
बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए। यस्तै मन्त्री साउदले इजरायलमा जोखिम ठाउँमा रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिए।
मन्त्री साउदले इजरायलको दक्षिण क्षेत्रको तुलनात्मकरुपमा जोखिमयुक्त क्षेत्रमा आश्रय लिइ राखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएका हुन् । (रासस)



















