काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले इजरायलमा नेपाली विद्यार्थी मारिनुभन्दा अघि आफूले बोलेका कुरालाई ‘काँटछाँट गरी’ गलत अर्थ लाग्नेगरी भिडिओ बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
गलत अर्थ लाग्नेगरी भिडिओ बनाएर प्रचार गरिनु आपत्तिजनक भएको भन्दै नेता पन्तले टिकटक, फेसवुक, युट्युब आदीमार्फत भाइरल बनाइएका ती सामग्री तत्काल हटाउन माग गरेका छन्।
मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेता पन्तले भनेका छन् “इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी प्रचार गरिएका भिडिओहरू तत्काल हटाउन माग गर्दछु । यस्तो गलत भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु ।”
सांसद पन्तले सरकारले तदारुकताका साथ इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गरोस् र मारिएका नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थालोस् भन्ने माग पनि गरेका छन् ।
नेता पन्तले इजरायलमा भएको घटनामा परी मारिएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना पनि प्रकट गरेका छन् ।
नेता पन्तले जारी गरेको वक्तव्यको पूर्णपाठ–
इजरायलमा नेपाली विद्यार्थीहरु हमासको आक्रमणमा परी मारिएको समाचार आउनुभन्दा अघि बोलेका कतिपय बोलीलाई काँटछाँट गरी गलत अर्थ लाग्ने भिडिओ बनाएर टीकटक, युट्युब आदिमा राखी केही व्यक्तिले जनमानसमा भ्रम उत्पन्न गराएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
म उक्त घटनामा परी मारिनुभएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारका सबै सदस्यहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।
बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्नेगरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तिजनक कार्य भएकोले यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु। यस्तो काम गलत भएकोले यस्ता भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न सम्बन्धित क्षेत्रले आवश्यक पाइला चालोस् भनी ध्यानाकर्षण गर्दछु ।
सरकारले तदारुकताका साथ इजरायलमा रहेका नेपालीहरूको तत्काल उद्धार गरोस् र मारिएका नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थालोस् ।
मेरो भनाइलाई काँटछाँट गरी त्यसरी गलत अर्थ लाग्ने भिडिओ बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुयाउने मेरो आशय नभएको कुरा व्यक्त गर्दछु ।
एक नेपालीले अर्को नेपालीको दुःखमा सहभागिता जनाएर पीडामा मलम लगाउनुपर्ने यस्तो संवेदनशील घडीमा व्यक्तिका भनाइहरूलाई बंग्याएर प्रस्तुत गरी स्थान बनाएर भ्युज बढाउन खोज्ने अमानवीय कार्य कसैले पनि गर्नु हुँदैन। त्यसैले त्यस्ता भिडिओहरू तत्काल हटाउन माग गर्दछु ।
– रघुजी पन्त, सदस्य प्रतिनिधि सभा





















