रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिएका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा खुट्टा फ्याक्चर भएका एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य सामान्य घाइते भएकाले अस्पताल पुर्याउन नपरेको प्रहरीले जनाएको छ ।



















