काठमाडौं । द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस असोज २६ गते नेपाल आउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जानेछन् ।
नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार महासचिव गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने तयारी भइरहेको छ।
संक्रमणकालीन न्यायको मुद्दामा अलमल गर्दा शान्ति प्रक्रियासमेत टुंगिएको छैन। सरकारले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभामा पेस गरेको छ। तर, दलहरूको बेमेलका कारण सो विधेयक थन्किएर बसेको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए ।
असोज २६ गते शुक्रबार अपरान्ह महासचिव गुटेरेस काठमाडौं आइपुग्नेछन् । असोज २९ गते सोमबार चाइना एयरलाइन्सको जहाजबाट उनी चीनको छेन्दु जाने कार्यक्रम रहेको छ ।




















