काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ ।
सोमबार दिउँसो संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा शिक्षा विधेयक, समसामयिक राजनीति र इजरायलको द्वन्द्व र नेपालीको उद्धारबारे छलफल भइरहेको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको हो । स्वीकृत विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ । उक्त विधेयकमा संशोधन प्रस्ताव के-के राख्न सकिन्छ भन्नेबारे पनि आजको बैठकमा छलफल भइरहेको छ ।
राईले नेपाल शिक्षक महासंघ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमतिबारे बैठकलाई जानकारी गराएका थिए । मन्त्री राईले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा आएका उपयुक्त सुझावलाई संशोधनमार्फत र केही विषयलाई नियमावलीमार्फत संशोधन गरिने बताएका थिए ।
शिक्षकको आन्दोलन फिर्ता गराउन सरकारले असोज ५ गते ६ बुदे सम्झौता गरेको थियो। त्यसमा राहत शिक्षकहरूको असहमति भएपछि सरकारले उनीहरूसँग पनि असोज १२ गते अर्को सम्झौता गरेको थियो ।




















