काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक :व्यापार,लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चीनविरुद्धका कुनै पनि गतिविधि गर्न नदिने जिकिर गरेका हुन् ।
उनले नेपाली भूमि प्रयोग गरेर कुनै गतिविधि हुन नदिने प्रतिबद्धता जनाए । उनले बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको बताउँदै अब छिट्टै कार्ययोजना बनाएर अघि बढ्ने जिकिर गरे।
प्रधानमन्त्री दाहालले चीन भ्रमणले नेपाल तथा चीनबीच उच्च राजनीतिक तहमा थप सुदृढ समझदारी विकास गर्न र यस क्षेत्रमै शान्ति,स्थायित्व तथा साझा समृद्धि हासिल गर्न सघाउ पुग्नेमा विश्वास व्यक्त गरे ।
संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।




















