विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको आह्वान गरिएको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समयसीमा दिएर संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन् । यो उपधाराअन्तर्गत जुनसुकै प्रदेशसभा सदस्यले पनि बहुमत (४७) पुर्याएर मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सक्ने छन् ।
मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठनका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई आगामी असोज २६ गते अपरान्ह ५ बजेभित्रमा दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ। एमालेका सभामुखबाहेक ३९ र एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य थिए । त्यसो हुँदा एमाले–राप्रपा गठबन्धनका प्रदेशसभा सदस्यको संख्या ४५ मात्रै पुग्ने थियो।
गठबन्धन दल नेपाली कांग्रेससँग २९, नेकपा (माओवादी) केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग ४ र जनता समाजवादी पार्टी (जसपा)सँग १ जना प्रदेशसभा सदस्य छन्। गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य पुग्छन् । तर, नयाँ सरकार गठनका बेला परिस्थिति कस्तो बन्छ भन्ने यकिन छैन।




















