काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन्।
राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्नसक्ने बताए । फेरि मिल्नुपर्ने अवस्था आउनसक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे।
पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुई पटकसम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे ।
पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरूले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए।
पुनले कांग्रेसले ००७ साल, ०१८ साल, ०२५-०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए।
ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरूलाई कुनै अफ्ठ्यारो नरहेको बताए।
नेपालका मूलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको उल्लेख गरे।
उनले ओली र नेताहरूबीच दूरी बढाउने काम नगर्न आग्रह गरे ।
शान्ति प्रक्रियाका बाँकी काम र संविधान रक्षासहित केही साझा एजेण्डामा कांग्रेससँग आफूहरूले सरकारमा सहकार्य गरिरहेको भए पनि एमालेसहित प्रतिपक्षी दलहरूलाई निषेध गर्नुपर्छ भन्नेमा आफ्नो दल नरहेको उनको स्पष्टोक्ति थियो ।




















