काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामूदायिक सद्भाव र सहिष्णुता अपनाउन आह्वान गर्नुभएको छ ।
आज सार्वजनिक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीचको एकता, सद्भाव एवं सहिष्णुता नै राष्ट्रिय शक्ति भएकोले संयम्ता अपनाउन पनि आग्रह गर्नुभएको छ ।
उहाँले मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हिनताबोध गर्नुपर्ने अवस्था नरहेकोले सुदृढ राष्ट्रिय भावना र सद्भावका निम्ति सामाजिक एकता, जागरण र पहरेदारीका लागि आह्वान गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले जारी गर्नु भएको सन्देशमा भनिएको छ, ‘नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात गर्दै आएका छौं । यही विविधता बीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति हो । हाम्रो संविधानले पनि ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ । यसरी संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै छ ।’
सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानून र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले एक–अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताउनु भएको छ ।
‘जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिन्छ । हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताहरूले यही शिक्षा दिंदै आएका छन् । आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात गर्नसक्नुपरेको छ’, उहाँको सन्देशमा भनिएको छ, ‘हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपील गर्दछु ।’




















