काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संविधानको मूल्य र मान्यता अनुसार अगाडि बढाउनुपर्ने बताएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई संविधानको मूल्य, मान्यता र भावनाअनुसार नै अगाडि बढाउनुपर्ने बताएका हुन्।
‘विद्यालय शिक्षा विधेयक सदनमा आएको छ। यसलाई संविधानको मूल्य, मान्यता र भावनाअनुसार उठेका सरोकारवालाको चासो र चिन्तालाई समेटेर निष्कर्षमा पुर्याउनुपर्छ, ‘ उनले भने।
उनले विधेयक नियमसंगत सदनमा आएकाले सरकारले यो विधेयकलाई पर्याप्त रुपमा छलफल गरेर ल्याएको छ भन्ने कुरामा विश्वस्त हुनुपर्ने बताए । सांसद लेखकले भरखरै सम्बन्धित सरोकारवालाको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुंगाएकाले अब यसमा सदनमै छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले विधेयकमाथि उठेका सरोकारवालाको सबैको विचार र आमनागरिकका धारणा बुझेर सदनमै छलफल चलाएर जानुपर्ने बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।




















