काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकका बोल्दै एक सांसदले पूर्वराजाको गतिविधिबारे गरेको आशंकाको खण्डन गर्दै शुक्रबार प्रतिनिधि सभाको बैठकबाटै अध्यक्ष लिङ्देनले त्यस्तो गतिविधि के थियो प्रष्ट पार्न चुनौती दिएका हुन ।
बिहीबारको वैठकमा ‘केही साथीले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्, निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र विरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधि ध्यान दिनुपर्यो भनेर आग्रह गरे, अनुरोध गरे’ भन्दै आजको वैठकमा अध्यक्ष लिङ्देनले भने “कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरुको जसले धार्मक सद्भाव विथोल्न लागेको छ ? राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ र लोकतन्त्र विरोधी भएको छ ? त्यसको म जानकारी लिन चाहन्छु ।”
यसैवीच राप्रपा अध्यक्ष लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ति जनाएका छन् । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद दाहालले रेकर्डबाट हटाउन माग गरेका छन् ।
उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’




















