काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गरेका हुन्।
संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।
अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ । संसदमा बोल्दै थापाले भने,’यो विषय अदालतको ढोकासम्म पुगेको छ । जसले हामीलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ।’
महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पारे । थापाले भने,’यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं।’
रिगललाई आममाफी दिएको विरोधमा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले काठमाडौंको माइतीघरमा बुधबारबाट अनशन सुरू गरेकी छन्। उनले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतलाई गुहारेकी छन्। उनले दिएको रिटमाथि सर्वोच्चमा प्रारम्भिक सुनुवाइ भइरहेको छ।
२०७२ असार २८ गते नेपालगञ्ज उपमहानगरपालिका -८का चेतनको दिनदहाडै हत्या भएको थियो ।




















