रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालगन्जका चेतन मानन्धरको हत्याका दोषी जेलसजायकै क्रममा आममाफी पाएर रिहा भएका रिगल भनिने योगराज ढकालका बारेमा आफूहरुलाई कुनै जानकारी नदिई निर्णय गरेको दाबी गरेका छन् ।
मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा रौतहटको चन्द्रनिगाहपुर पुगेका पूर्वप्रधानमन्त्री नेपालले बिहीबार प्रेस सेन्टर रौतहटद्वा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कानुनमै नभएको कुरा प्रयोग गरी किन उन्मुक्ति दिईयो भन्ने विषयमा प्रधानमन्त्री दाहाल समक्ष कुरा राख्ने बताए ।
यस्तो विषयमा सरकारले कुनै पार्टी विशेष, कार्यकर्ता विशेषमा आफ्नै ढंगले चल्नु हुँदैन । कानुन मिच्नेलाई सरकारले दण्डित गर्नुपर्छ उन्मुक्ति दिन नहुने उनको तर्क थियो ।
मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका रिगल भनिने योगराज ढकालको १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भईरहेको छ ।




















