काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तस्करीको सुन प्रकरणमाथि निष्पक्ष छानबिन गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आलटाल गर्दै आएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले तस्करीको सुनमाथि छानबिन गर्नुको सट्टा ढाकछोप गर्न गृहमन्त्री नै लागिपरेको दावी गरे।
अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न चलाएको सुशासन अभियान रोक्न संगठितरुपमै विरोधी लागेको बताएको भन्दै आपत्ती जनाए ।
ओलीले गृहमन्त्रीको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको बताए ।
उनले अवैधरुपमा भित्रिएको सबै सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठले नै छानबिन गर्न नमानेको जिकिर गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सुन प्रकरणको निष्पक्ष छानबिन गर्न गृहमन्त्री डराएको समेत बताए । सरकारविरुद्ध कसैले बोल्यो भने सुनिल शर्मा बनाइदिन्छु भन्दै सरकार लागिपरेको ओलीले व्यंग्य समेत गरे ।




















