काठमाडौं । सरकारबाट हुने गलत निर्णय रोक्न राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएको छ ।
नेपालगञ्जका रिगलु भनिने योगराज ढकाल लगायतलाई आममाफी दिएको विषयमा असन्तुष्टि जनाउँदै रास्वपाले राष्ट्रपति पौडेललाई ध्यानाकर्षण गराएको हो।
रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सोमबार बिहान राष्ट्रपतिलाई भेटेर ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको महामन्त्री मुकुल ढकालले जानकारी दिए। उनका अनुसार असोज १० गतेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय बमोजिम आज बिहान १० बजे पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रपति कार्यलयमा जघन्य अपराधअन्तर्गत फौजदारी कसुरमा सजाय पाएका व्यक्तिलाई संविधान दिवसको दिन माफी दिइनु विधिको शासनको मर्मको बर्खिलाप रहेको भनि राष्ट्रपतिलाई सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेको हो ।
ध्यानाकर्षण पत्रमा संवैधानिक सर्वोच्चता, विधिको शासन र कानुनी राज्यको व्यवहारिक प्रत्याभूतिका लागि र सरकारले राजनीतिक मनशायका साथ गरेका सिफारिस र गलत निर्णयको बोझ राष्ट्रपति जस्तो सम्मानित संस्थामा पर्न नहुने उनीहरुको तर्क छ ।
जवाफमा पौडेलले मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने बताउनुभएको छ । सरकारले सबै प्रक्रिया पूरा गरेर पठाएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न सक्ने संवैधानिक व्यवस्था नरहेको उहाँको भनाई छ ।