
काठमाडौं । विश्व बसोबास दिवस यस बर्ष ‘समृद्धि एवं पूनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । शहरी विकास तथा भवन निर्माण बिभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते बिभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवस मनाउने जानकारी दिएको हो ।
हरेक बर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा सोमबार बिभाग र युनएन ह्याविट्याटको संयुक्त आयोजनामा कार्यशाला गोष्टिको आयोजना गरिएको विश्व बसोबास दिवस मूल तयारी समितिका संयोजक सहसचिव दिलीप भण्डारीले जानकारी दिएका छन् ।
उनले अहिलेको परिस्थितिमा शहरहरुलाई आर्थिक अवसरको केन्द्रको रुपमा बिकास गरि आत्मनिर्भर शहरी बिकासमा जोड दिन जरुरी रहेको बताएका छन् । भण्डारीले २०९० सम्ममा स्थानीय पूर्वाधार तयार गर्ने कार्यक्रममा ५ प्रतिशतमात्रै लगानी भएकाले निजि क्षेत्रको पनि सहभागीता आवश्यकता देखिएको बताएका छन् ।
शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।




















