काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । अमेरिका र चीन भ्रमणबाट फर्किएको भोलिपल्टै प्रधानमन्त्री दाहालले बोलाएपछि अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला प्रधानमन्त्री निवास पुगेका हुन् ।
वालुवाटार स्रोतका अनुसार समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत गरेपछि प्रधानमन्त्रीले सो बारेमा छलफल गर्न बोलाएको हुन सक्ने बुझिएको छ ।
एमालेकै मागअनुसार सुन प्रकरण अनुसन्धानका लागि असोज ५ गते भित्रमा उच्च स्तरीय समिति बनाउने सहमति राजनीतिक दलहरूबीच भएको थियो । तर हालसम्म मितिमा गठन भएको छैन ।
प्रतिनिधिसभाको बैठक आज १ बजेका लागि बोलाइएको छ ।