काठमाडौं । दुई सातापछि प्रतिनिधिसभाको बैठक भोलि आइतबार बस्ने भएको छ।
दुई साता पछि बस्न लागेको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।
यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिब दुई साता विदेश भ्रमणमा गएकाले बैठक राखिएको थिएन । सभामुख पनि देश बाहिर गएका थिए ।
लामो समय संसद बैठक स्थगित गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देशबाहिर जाँदा संसद बैठक स्थगित गरेको भन्दै विरोध गर्दै आएका थिए ।
यसैबीच सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरेपछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदका कामकारबाही अबरोध गर्ने संकेत गरेका छन् ।
‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन्, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्यो तर त्यसलाई कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’
‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट लेखेका छन्-सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।