काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताएका छन् । चीनबाट स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले दुवै भ्रमण सफल भएको बताएका हुन् ।
करिब ४ वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले बेला आफ्नो भ्रमण हुनु महत्त्वपूर्ण रहेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ।’
उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको पनि दाहालको भनाइ छ । उनले अगाडि भने, ‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ, र अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चीनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ ।’
त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम भएको पनि प्रधानमन्त्री दाहालले बताए । नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको पनि उनको भनाइ छ ।
‘…दिगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ,’ प्रधानमन्त्री दाहालले भने । (रासस)