विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरू अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको विकल्प दिन नसक्ने अवस्थामा रहेको जिकिर गरे ।
उनले प्रमुख पार्टीहरू जिम्मेवार हुँदा भने अर्को विकल्प हुन सक्ने बताए । ओलीले नेपालको चुच्चे नक्सबारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताए।
त्यस्तै ओलीले कोशी प्रदेशमा मध्यावधिमा जान सक्ने अवस्था नरहेको भन्दै गठबन्धन दलका कारण मध्यावधिमा गए एमालेले भारी मत ल्याउने दावी गरे ।
अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे।
उनले फलानोलाई भोट दिनु भनेर आफूले कसैलाई नभनेको दावी गरे।