काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन् ।
सभापति लामिछानेले ठूला दलले मिसन ०८४ को रटान गरेको पटक्कै नसुहाएको भन्दै अहिले नै काम गर्ने समय भएको र चार–चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने टिप्पणी गरे ।
उनले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना दलहरूलाई सुझाएका छन् ।
सभापति लामिछानेले ४ वर्षपछि हुने संसदीय निर्वाचनमा भर्खरै आएका नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल समेत गरेका छन् ।
उनले अहिलेको समयलाई अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन सचेत गराएका छन् ।