काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार बिहान ८ बजेबाट मतदान हुँदैछ ।
सर्वसम्मत नेतृत्व चयनका लागि निकै प्रयास भएपनि सफल नभएपछि आज पार्टी मुख्यालय च्यासलमा मतदान हुन लागेको हो । मतदानका लागि ४० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।
गत असोज ८ गतेबाट सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल, रामेछापका कैलाश ढुंगेल र रामेछापकै केशबहादुर बुढाथोकी गरी तीनजनाको उम्मेदवारी रहेको निर्वाचन समितिका प्रमुख अधिवक्ता डिल्ली मैनालीले जानकारी दिएका छन् ।