काठमाडौँ । वाग्मती प्रदेशमा सहमतिमा नेतृत्व चयन गर्ने भन्दै एमालेले पटक-पटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ । पछिल्लो समयमा उम्मेदवारी फिर्ता लिने समय बिहीबार बेलुकी ८ बजेसम्मका लागि तोकिएको छ ।
अध्यक्ष मण्डलले बिहीबार राति उम्मेदवारीको अन्तिम नामावली जारी गर्ने छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ उम्मेदवार छन् । हालका प्रदेश अध्यक्ष केशवराज पाण्डेले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, राजेन्द्र राजथला, सुभाषचन्द्र ठाकुर रहेका छन् ।
सचिवमा रामकुमार अधिकारी, नवराज सिलवाल, रत्न गुरुङ, हस्तबहादुर पण्डितले उम्मेदवारी दिएका छन् । २ जना उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, गंगादेवी श्रेष्ठ, टासी लामाको उम्मेदवारी परेको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भृकुटीमण्डपमा उद्घाटन गरेको अधिवेशनको मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सम्पन्न भएको थियो ।
मंगलबार नै निर्वाचन कार्यक्रम सक्ने जनाएको एमालेले सहमतिका लागि भन्दै तेस्रो पटक निर्वाचन तालिका परिमार्जन गरेको छ ।
एमाले नेताका अनुसार भोलि शुक्रबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको छ ।