कर्णाली । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन् ।
आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले सङ्घीयताको अनुभूति गर्न नपाएको भन्दै सङ्घीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए । उनले सङ्घीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामती र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए ।
उनले विकास-निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए ।
रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए । प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ ।




















