काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ ।
सोमबार भृकुटीमण्डपमा उद्घाटन भएको अधिवेशनको कार्यक्रम मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलेको थियो । मंगलबार राजनीतिक, संगठनात्मक र लेखा प्रतिवेदनमाथि छलफल भयो । यी प्रतिवेदनहरु पारित भएपछि बुधबारदेखि केन्द्रीय कार्यालय च्यासलमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्दै छ ।
निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
अधिवेशनमा १ हजार १७४ प्रतिनिधि चयन भएका छन् ।
निर्वाचन प्रक्रिया सँगसँगै सहमतिको प्रयत्न पनि जारी रहेको नेताहरुले बताएका छन् । बागमती प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, केशव पाण्डे, कृष्णभक्त पोखरेल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, रचना खड्कालगायतले दाबी गरेका छन् ।
उनीहरुमध्ये कृष्ण दाहाल र कैलास ढुंगेलको बलियो दाबी देखिएको छ । यसले गर्दा चुनाव हुँदा यी दुई बीच हुने संभावना रहेको नेताहरुले बताएका छन् ।



















