काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइन्सलाई वधाई तथा सम्मानपत्र प्रदान गरेको छ । एयरलाइनसको २५औं वर्षको अवसरमा सोमबार क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरेका छन् ।
यती एयरलाइन्सले सन् १९९८ सेप्टेम्बर २४ मा काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको थियो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताएका छन् । उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको बताएका छन् ।
यती एयरलाइन्सले अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिने गरी शेयर मार्केटमा जान लागिएको बताएका छन् । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने योजना रहेको बताइएको छ ।