काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्र भने मंगलबार बिहानबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।
अधिवेशनमा प्रतिनिधिका रूपमा स्थानीय तहबाट १२५ जना संगठित सदस्य बराबर एक जना, एकतिहाई महिला अनिवार्य, १० प्रतिशत ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागिता गराइएको छ । अधिवेशनमा ४० वर्ष मुनिका १२० जना युवा प्रतिनिधिको छानिएका छन् ।
त्यस्तै कूल प्रतिनिधिको एकतिहाई अर्थात ३५० जना महिला प्रतिनिधि छन् । दलित प्रतिनिधिको हकमा ५० जना बराबर एकको व्यवस्थापन गरिएको छ । अधिवेशनमा प्रदेशभरबाट एक हजार १३८ जना प्रतिनिधि सहभागि हुने छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ । कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता हुनेछ भने १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताएका छन् ।
नेतृत्व चयन सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सर्वसम्मत नभए निर्वाचनमा जाने एमाले बागमतीले जनाएको छ ।
प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यसहित आधा दर्जन आकांक्षी देखिएका छन् । अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल (मकवानपुर), कैलाश ढुंगेल (रामेछाप), रचना खड्का (दोलखा), वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे (नुवाकोट), बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ (काठमाडौं) आकांक्षी रहेका छन् ।



















