काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् ।
सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरुले भाग लिएको पटकपटक दोहो-याए ।
शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।
महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले काँग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे ।
महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए । जनताको चाहनालाई प्रतिविम्वित नगरेकाले नेपालको संविधान परिवर्तन गर्नुपर्ने उनको भनाई थियो ।