काठमाडौँ । समृद्ध एड मिडिया नेटवर्क प्रालिले १३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षाविद्, शिक्षाकर्मी र पत्रकारलाई वरिष्ठ पत्रकार भैरव रिसालबाट सम्मान प्रदान भएकोछ ।
सम्मानित हुनेहरुमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, एडकमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा छन् ।
शिक्षा पत्रकारितामा संस्थागत योगदान दिने शिक्षा पत्रकार समाज र उक्त मिडियामा उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारीलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
त्यस्तै ‘एजुकेसन न्यूज’ पाक्षिकको विशेषाङ्कको विमोचन गरिएको थियो ।
समृद्ध एड मिडियाले खबर एजुकेशन डटकम, एजुकेशन न्यूज पत्रिका र स्कुल खबर पत्रिका प्रकाशन गर्दै आएको छ । शिक्षाका खोजमूलक समाचार र नीतिगत पैरवीमा पनि काम गर्दै आएको अध्यक्ष/सम्पादक लक्ष्मीप्रसाद ढकालले.जानकारी दिएका छन् ।
उक्त मिडियाले आगामी दिनमा शैक्षिक संवाद केन्द्रको सञ्चालनका साथै ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्ने तयारी रहेको प्रबन्ध निर्देशक तथा प्रधान सम्पादक पुष्पा अधिकारीले बताएकी छिन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार रिसाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, उच्चशिक्षा तथा विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रामहरि सिलवाललगायतले सो मिडिया प्रालिको स्थापना दिवसका अवसरमा शुभकामना दिएका थिए ।