काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गर्दैछन्। शनिबार साँझ ६ बजे संयुक्त राष्ट्रसंघको मुख्यालय अमेरिका प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण : २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।
प्रचण्डले महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायमाझ मुखरित गर्ने बताएका छन्।
यसैगरी यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी साइडमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरूमा सहभागी हुने संसदलाई उनले जानकारी दिए।
अमेरिकामा रहँदा उनेले राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्ने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने जलपान कार्यक्रममा समेत सहभागी हुनेछन् । अमेरिकाबाट असोज ५ गते सीधै चीन जानेछन् ।




















