काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीनसमेत जाँदैछन् । त्यही क्रममा उनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने पनि सदनलाई जानकारी दिए । नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।




















