काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो।
बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । यसअघि राष्ट्रियसभाले वर्तमान प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।
बैठकमा पूर्वसभामुख समेत रहेका नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो । प्रतिनिधिसभा अर्को बैठक भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।
नेम्वाङको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानमा अन्त्येष्टि गरिएको छ । नेम्वाङको हिन्दू र किराँती परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।




















