काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो।
तामाङ राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरुवा भएको छ । सुवेदीलाई दाङको सीडीओ बनाइएको छ।
उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ।
रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको छ ।
त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ। महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।




















