चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल अराजक भइसकेको बताएका छन् ।
कांग्रेसको चितवन सम्मेलनमा शनिबार बोल्दै उनले प्रधानमन्त्री दाहालले जातीय हिंसा भड्काउने हिसाबले अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाए ।
प्रधानमन्त्री दाहालले धरानमा भएको घटनाबारे विस्तृत बुझ्ने बताए पनि हालसम्म त्यसबारे केही कुरा सार्वजनिक नभएको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहले सिंहदरवार जलाउने चेतावनी दिनु पनि अराजकताको हद भएको बताए ।
प्रधानमन्त्री दाहालले २९औं आदिवासी दिवसका दिन ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका थिए ।
त्यस्तै नेता कोइरालाले अब नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउने बेला आएको बताए । संसदीय प्रणालीमा प्रधानमन्त्रीको मुख्य भूमिका हुने भन्दै मन्त्रीले मात्र केही नहुने बताए ।
‘हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्। कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्। कसैलाई लागेको होला केही काम गरेका छैनन्। तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन,’ उनले भने ।




















