भक्तपुर । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा एमालेका १ हजार ७ सय ६१ जना नयाँ सदस्यले शपथ लिएका छन् ।
शुक्रबार एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले नयाँ सदस्यलाई शपथ गराएका हुन् ।
शपथ कार्यक्रममा बोल्दै ढुङ्गेलले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले कम्युनिष्ट पार्टीको सदस्यले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्ने बताए ।
पार्टीको नीति, बिचार र सिद्धान्तलाई अङ्गालेर कम्युनिष्ट आचरण अनुसार पार्टी कार्यकर्ता चल्नुपर्नेमा ढुङ्गेलले जोड दिए ।
व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हित एवं देशको लागि लाग्नु पर्ने उनले बताए । उनले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने बताए ।
नेपालको कम्युनिष्ट आन्दोलनको मूल धार नै नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले सबैलाई एमालेमा समाहित हुन आग्रह गरे ।
एमालेबाहेकले देश बनाउन नसक्ने बताउँदै ढुङ्गेलले त्यसको लागि एमालेले मिसन २०८४ अभियान सुरु गरेको बताए । एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमति प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्तला श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरूको सहभागिता थियो ।




















