वीरगन्ज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेविसंघ पर्साले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
नेविसंघ आवद्ध विद्यार्थीहरूले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको भन्दै अविलम्ब राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यावदमाथि सांघातिक आक्रमण भएको थियो। यादवमाथि नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सह-महामन्त्री यादवको टाउकोमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दिनदहाडै कांग्रेसका सह-महाममन्त्री यादवमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकाले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग नेविसंघको छ ।




















