काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेट गरेका छन् ।
आईतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए । उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पु-याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताएको जानकारी गराए । उनले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न शुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएको जानकारी दिए ।
होलेन गत शुक्रवार नेपाल आएका थिए । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य रहेका छन् ।



















