बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताएका छन् ।
एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए ।
०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए ।
नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए।
‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो । अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने । उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए ।
एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ । तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए । उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए । तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ ।




















