पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको दाबी गरेका छन् ।
पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको बताएका हुन् ।
उनले भने, ‘माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपमा रुपले साबित भयो ।’
एउटै मोर्चामा रहेका माधव नेपाललाई विगतमा केपी ओली प्रधानमन्त्री हुँदा कहीँकतैबाट षडयन्त्र हुने पो हो कि भन्ने आफूलाई आशंका रहेको बताउँदै उनले सीआइबीले लिखित रुपमै निर्दोष सावित गरेपछि आफू टेन्सनमुक्त भएको उनले बताए ।
उनले भने, ‘अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष सावित गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि ।’
साथै उनले सरकारले लिएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने समेत बताए ।




















