काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ मानव अधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत बरालको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
‘वरिष्ठ मानव अधिकारकर्मी वामपन्थी नेता टेकनाथ बरालको निधनको खबर सुन्दा अत्यन्त दुःखी छु । दिवंगत टेकनाथ बरालप्रति भावपूर्ण श्रद्धाञ्जली १ दुःखको यस घडीमा शोक सन्तप्त समस्त परिवारजनमा गहिरो समवेदना ११’ शुक्रबार बिहान ट्वीटरमा लेख्दै अध्यक्ष ओलीले भनेका छन् ।
पोखराका वामपन्थी नेता बरालको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको थियो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । वामपन्थी नेता बराल मानवअधिकारको क्षेत्रमा सक्रिय थिए ।
१९९६ सालमा पोखराको नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राणाविरोधी आन्दोलनमा सहभागी थिए । २०१३ सालमा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए ।
२०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनले पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चयन भएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए ।
२०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरेका थिए । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि भएका थिए । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।




















